केशव कोइराला
भदौ,२२ बर्दिया । बर्दियाको राजापुर नगरपालिकाले लगाएको एकिकृत सम्पती एवं अन्य करको बिरोध गर्दै बिभिन्न राजनीतिक दलले तालाबन्दी गर्नुका साथै राजापुर बजार समेत बन्द गरेका छन् ।
नेपाली काँग्रेस, नेकपा एमाले, राप्रपा, नागरिक उन्मुक्ती, नेकपा एस, राष्ट्रिय जनमोचा र क्रान्तिकारी नेकपाले तालाबन्दी सँगै बजार बन्द गरेका हुन् ।
नागरिकको बेवास्ता गर्दै मनोमानी ढंगले नगरपालिकाले चर्को कर असुलेको दलहरुको आरोप छ ।
भदौ १५ गते वडा कार्यलयहरु घेराउ १८ गते नगरपालिका घेराउ लगायतका शान्तिपूर्ण बिरोधका कार्यक्रम गरेपनि नगरपालिकाले सुनुवाई नगरेपछि थप आन्दोलन घोषणा स्वरुप नगरपालिकामा तालाबन्दि गरिएको नेपाली कांग्रेसका नगर सभापति महेश चौधरीले जानकारी दिनुभयो ।
कर बृद्धी घटाउन आम समुदायको गुनासो आएकाले शान्तीपूर्ण आन्दोलन गरेको नकपा एमालेका नेता शिव प्रसाद चौधरीले बताउनु भयो ।
यता नगर प्रमुख दिपेश थारुले अन्य पालिकाको तुलनामा राजापुर नगरपालिकाले न्यून कर लिएको दावी गर्नुभयो ।
नगरपालिकाले २०८० असार १८ गते अर्थ सम्वन्धी प्रस्तावलाई कार्यन्वयन गर्न ऐन ल्याएको थियो । जसमा सम्पती करमा स्वघोषणा अनुसार १० लाख सम्मको मुल्याङ्कनमा एक मुष्ठ ३०० रुपैया र ५ करोड भन्दा माथिको मुल्याङ्कनमा ०.०५ प्रतिषत कल लाग्ने उल्लेख छ ।