बर्दिया कात्तिक १९ गते । नेपालीहरूको महान् पर्वका रूपमा चिनिएको विजया दशमी र तिहार बिदामा मात्र बर्दिया राष्ट्रिय निकुञ्जमा दुई हजार आँठ सय ८३ जना पर्यटकले निकुञ्जको अवलोकन गरेका छन् ।

पश्चिम नेपालकै सबैभन्दा ठुलो पर्यटकीय क्षेत्रका रूपमा चिनिएको बर्दिया राष्ट्रिय निकुञ्जमा बिदाको समयमा पर्यटकको आगमन बढ्दै गएको दसैँ तिहारको तथ्याङ्कले देखिएको छ ।

दसैँ र तिहारको लामो बिदाका कारण यस वर्ष पर्यटक निकुञ्ज अवलोकनमा आउने पर्यटकको सङ्ख्या हो । दसैँ बिदामा मात्र बर्दिया राष्ट्रिय निकुञ्जमा एक हजार दुई सय सात जना पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए भने तिहार बिदाको समयमा एक हजार ६ सय ७६ जनाले निकुञ्जको अवलोकन गरेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जमा पहिलाको तुलनामा यस वर्ष स्वदेशी पर्यटक बढ्दै गएको निकुञ्जले जनाएको छ । दसैँ तिहारका समयमा लामो बिदा भएका कारणले निकुञ्जमा चार सय ६ वटा जिप सफारी भएको निकुञ्ज प्रशासनको तथ्याङ्कमा उल्लेख छ । बर्दिया राष्ट्रिय निकुञ्जमा विशेष गरी निकुञ्ज भित्र स्थापना गरिएको गोही प्रजनन केन्द्र, हात्तीसारमा स्थापना भएको हात्तीसार र निकुञ्ज भित्र पाइने बाघ अवलोकनका लागी पर्यटक आउने गरेको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी सरोजमणि पौडेलले बताउनु भयो । 

बिदाको समयमा पर्यटक आउने क्रम बढेका कारण निकुञ्ज बाहिर रहेका होटल व्यवसायी समेत उत्साहित भएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको सीमा सँग जोडिएको ठाकुरद्वारा क्षेत्रमा सञ्चालन गरिएका होटेल व्यवसायी पर्यटकको आगमन पछि बिदाको समयमा समेत व्यस्त भएका छन् । मध्यवर्ती वन व्यवस्थापन समितिका अध्यक्ष हेमन्त आचार्यले पर्यटकको आगमनले आफूहरूलाई उत्साहित बनाएको बताउनु भयो । पर्यटन व्यवसायी कृष्ण भट्टराईले निकुञ्जमा अवलोकनका लागि आउने पर्यटकहरूलाई सुविधा दिन सके पर्यटक अझ बढ्ने विश्वास व्यक्त गर्नु भयो ।








