राम प्रसाद चौहान
बर्दिया,कार्तिक ५ दिपावली नजिकिएसँगै कसगढ समुदाय माटोको दियो बनाउन व्यस्त देखिएका छन् । गुलरियाका नगरपालिका–८ भन्सार रोड स्थित कसगढ समुदाय यतिबेला निकै व्यस्त देखिन्छन् । परिवारका सम्पुर्ण सदस्यहरु कोही पनि खाली भेटिदैनन् ।
कसैले विद्युतिय चक्रको सहायताले माटो दियो लगायत सामाग्री बनाउन व्यस्त छन् त कोही बनाएको सामाग्री सुकाउन, मिलाउन त कसैले माटो मुछेर सघाँएको पाईन्छ । यो समुदायलाई अन्य समयमा फुर्सद भए पनि दिपावली नजिकिएपछि व्यस्तता बढ्ने गर्दछ । दिपावलीमा माटोको दियो बाल्ने परम्परा सदियौ देखि चलिआएको छ । दिपावलीमा माटोको दियोको माग बढ्ने भएकोले कसगढ समुदायलाई माटोको दियो बनाउन भ्याइनभ्याई छ ।
लक्ष्मी पूजाको दिन घरमा दीपावली गर्नका लागि माटोको दियोमा दीप प्रज्वलित गर्ने चलन रहेपनि पछिल्लो समय बिद्युतिय दियो र झिलिमिली बत्तीको प्रचलन बढेको छ ।
बिद्युतिय दियो बत्ती र झिलिमिली बत्तीको प्रचलन आएपछि कसगढ परिवार चिन्तित बनेको गुलरिया नगरपालिका–८ भन्सार रोडका अब्बास अलि कसगढले बताए । ‘विद्युतिय दियो बत्तीले गर्दा माटोको दियो पहिलाको भन्दा बिक्रीमा कमी आएको छ,’उनले भने,‘त्यसैगरी प्लास्टिक, काँच, स्टीलका भाडाँवर्तन प्रयोगमा आएसंगै माटोको भाँडाबर्तनको बिक्रीमा कमी आएपछि कसगढ समुदायको पुर्खौली पेशा नै धरापमा पर्दै गएको छ ।’ पुर्खौली पेशालाई अंगालेको करिब ४० वर्ष भईसकेको उनले सुनाए । ‘यस पेशामा मेहनत बढी, आम्दानी कम हुन्छ,’उनले भने,‘जसले गर्दा परिवार पाल्न खर्च धान्न मुस्किल छ ।’
गुलरिया भन्सार रोड स्थित रहेको कसगढ समुदायका दश जनाले माटोको भाँडाबर्तन बनाउने काम गर्ने गरेको उनले सुनाए । कसगढ समुदायको मुख्य पेशा नै माटोको भाडावर्तन बनाउने हो । पछिल्लो समयमा माटोको भाडावर्तनको प्रयोग घट्न थालेपछि पुर्खौली पेशा नै संकटमा परेको उनले जनाए ।
हामीले बनाएको माटोको भाडावर्तन दाङ, सुर्खेत, कैलाली, महेन्द्रनगरलागयत छिमेकी जिल्लामा जाने गरेको गुलरिया नगरपालिका–८ भन्सार रोडका रज्जबली कसगढले जनाए ।
माटोको भाडावर्तन बनाउन माटोको धेरै समस्या छ । एक ट्रली माटो रु छ सय पर्छ ।
त्यसैगरि माटोका भाडा पकाउनको लागि भुस एक झ्यालको छ सय र दाउरा एक भारी रु ३ सयमा किन्नुपर्छ । तर, हामीले बनाएको माटोको भाडाबर्तन सास्तोमा बिक्ने गरेको कसगढ समुदायको गुनासो छ । स्थानीय सरकारले माटो सहजै पाउने वातावरण मिलाईदिए माटोको सामाग्री बनाउन सहज हुने कसगढ समुदायको भनाई छ । पुजापाठमा आवश्यक पर्ने सम्पुर्ण माटोको सामाग्री, माटोको दियो, कलश, लाखबत्ति, भुड्की, बच्चाहरुको खेलौनालगायतको माटोको सामाग्री कसगढ समुदायले बनाउँदै आएका छन् ।