ज्योति पन्थी बर्दिया
लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले लुम्बिनी प्रदेशमा खस्कदो शिक्षा प्रणालीप्रति चिन्ता जाहेर गरेका छन्। सामाजिक विकास मन्त्रालयको जिम्मेवारी प्राप्त गरिसकेपछि गृह जिल्ला बर्दिया पुगेका मन्त्री तिमिल्सिनाले लुम्बिनी प्रदेशमा शिक्षाको अवस्था खस्किरहेकोप्रति चिन्ता जाहेर गरेका हुन्। नेपाल प्रेस युनियन बर्दिया शाखाले आयोजना गरेको पत्रकारसँगको भेटघाट कार्यक्रममा उनले चिन्ता जाहेर गरेका थिए। समग्रमा हेर्ने हो भने शिक्षाको नीति र गुणस्तर हाम्रो प्रदेशमा निकै कमजोर भएको देखिन्छ ।
गएको एसइइ परीक्षाको परीक्षाफल प्रकाशित भएपछि लुम्बिनी प्रदेशको शिक्षा नीति कमजोर भएको साबित भएको समेत उनले बताए । आफू मन्त्री भइसकेपछि आफूले सबै चिज गर्छु भन्ने अठोट नलिएको र केही चिजमा सुधार गर्न आफू लागिपर्ने समेत सञ्चारकर्मीहरूसँग उनले बताए । नेपाल प्रेस युनियन बर्दिया शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरूले समेत विभिन्न विषयमा प्रश्न गरेका थिए। बर्दिया जिल्लामा यातायातको सेवा कार्यालय नहुँदा बर्दियाबासीले शास्ति खेप्नु परेको भन्दै सञ्चारकर्मीले प्रश्न उठाएका थिए ।यातायातको लाइसेन्सहरू बजारमै खुलेआम बिक्री हुँदा समेत प्रदेश सरकार मौन रहेको समेत गुनासो सञ्चारकर्मीहरुले गरेका थिए। सञ्चारकर्मीहरूको जिज्ञासामा मन्त्री तिमिल्सिनाले कुनै पनि समयमा बर्दिया जिल्लामा यातायात सेवा कार्यालय खुल्नेमा आफू ढुक्क रहेको र मुख्यमन्त्रीसँगको बैठकमा समेत यो कुरा गरिसकेको जानकारी दिएका थिए । कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले आफ्नो मुख्य उद्देश्य भनेकै शिक्षा क्षेत्र सुधार गर्नु रहेको बताएका थिए। पत्रकार भेटघाट कार्यक्रममा सञ्चारकर्मीहरूले विज्ञापन प्रणाली लागू गर्दा बर्दिया जिल्लाका सञ्चारकर्मीलाई समेत ध्यान दिनुपर्ने आग्रह गरेका थिए।