ज्योति पन्थी
बर्दिया असार १३ गते । बर्दिया जिल्लाको गुलरिया नगरपालिका अन्तर्गत भएर बग्ने बबई नदीमा आउने बाढीलाई मध्यनजर गर्दे भेरी वातावरणीय विशिष्टता समूह (बि ग्रुप) ले समुदायका लागि जलवायु उत्थानशील कार्यक्रम अन्तर्गत बिपत न्यूनीकरणका लागी खोज उद्धार तथा जीवन बचाउ सामाग्री सहयोग गरेको छ ।
गुलरिया नगरपालिकाको बबई नदी सँग जोडिएका वडा नं.५,८,११ र १२ लाई बिपत न्यूनीकरणका लागी खोज उद्धार तथा जीवन बचाउ सामग्री हस्तान्तरण गरिएको हो ।
नदीमा बाढी आउँदा बस्तीमा पसेपछि नागरिकहरूलाई सुरक्षित गर्नका लागी प्रयोग गरिने खोज उद्धार तथा जीवन बचाउ सामग्री बि ग्रुपले हस्तान्तरण गरेको हो । बि ग्रुपले उपलब्ध गराएको सामग्री बुझ्दै गुलरिया नगरपालिका वडा नं.५ का वडा अध्यक्ष मुम बहादुर मल्लले बाढी बाट बचाउन खोज उद्धार सामाग्री प्रभावकारी हुने बताउनु भयो । गुलरिया नगरपालिकाको ४ वटा वडाहरूलाई भेरी वातावरणीय विशिष्टता समूहले खोज तथा उद्धार कार्यमा सहज होस भनेर खोज उद्धार तथा जीवन बचाउ सामग्री हेडलाईट, स्ट्रेचर,काममा प्रयोग गर्ने पन्जा, क्लाईम्बीङ डोरी, लाइफ ज्याकेट, हेलमेट, सेफटी बुट लगायतका १५ अति आवश्यक सामग्री सहयोग गरिएको भेरी वातावरणीय विशिष्टता समूहका कार्यक्रम संयोजक हेमन्तराज जोशीले बताउनु भयो ।
बर्दिया जिल्लाको सदरमुकाम भएर बग्ने बबई नदीको अति जोखिममा रहेका वडा नं ५ को बालापुर,हरियाली टोल, राम बाग, सुहेलवा, सन्तोष टोल र वडा नं.६ को खानेपानी टोल, बिद्युत् टोल वडा नं. ८को आसापुर, पशु हाट बजार लगायतका स्थानमा खोज तथा उद्धारमा भेरी वातावरणीय विशिष्टता समहुले सहयोग गरेको सामग्री उपयोगी हुने गुलरिया नगरपालिकाका उप प्रमुख सावित्रा गौतमले बताउनु भयो । बबई नदीमा आउने बाढीले बर्दिया जिल्लाका चार स्थानीयतहहरुलाई प्रभावित पार्ने गरेको छ । बबई नदीले बर्दियाको बार बर्दिया नगरपालिका, ठाकुर बाबा नगरपालिका, मधु वन नगरपालिका र गुलरिया नगरपालिकालाई प्रभावित पार्दे आएको छ । बाढीका कारण प्रत्येक वर्ष सयौ घर परिवार विस्थापित हुँदै आई रहेका छन् भने कतिले ज्यान गुमाउने गरेका छन् ।









