ज्योति पन्थी
बर्दिया साउन ८ गते । बाँके युनेस्को क्लबले सशक्त बालिका परियोजना अन्तर्गत बर्दियाका गाउँँ गाउँमा अभिभावकलाई तालिम दिएपछि अभिभावकहरुले आफ्नो घरको कोठामा कक्षाकुना स्थापना गरेका छन् । विद्यालयमा अध्ययनरत बालबालिकालाई विद्यालयमा पढेका कुराहरू अध्ययन गर्न सजिलो होस् र बालबालिकाको पढाइमा रुचि जगाउने उद्देश्यले अभिभावकले एक घर एक कक्षा कुना स्थापना गरेको अभिभावकहरूको भनाइ छ । बाँके युनेस्को क्लबले बर्दियाको बढैयाताल गाउँपालिकाको वडा नम्बर ७ स्थित पचासा गाउँ गुलरिया नगरपालिकाको वडा नम्बर १२ स्थित भैसाई गाउँ र मधुबन नगरपालिकाकाको वडा नम्बर २ स्थित सुन्दरपुर गाउँका अभिभावक समेत सक्रिय भएका छन्। बाँके युनेस्को क्लबले बढियाताल गाउँपालिका गुलरिया नगरपालिका र मधुबन नगरपालिकाका करिब १ हजार ८ सय ७ जना अभिभावकलाई तालिम दिएपछि अभिभावकहरू समेत आफ्ना नानीबाबुको पढाइमा सचेत देखिएको बाँके युनेस्को क्लब सशक्त बालिका परियोजनाका उपनिर्देशक गोविन्दप्रसाद लामिछानेले बताउनु भयो ।
यस वर्ष बढैयाताल गाउँपालिकाको पचासा गुलरिया नगरपालिकाको भैंसाही र मधुबन नगरपालिकाको सुन्दरपुरलाई एक घर एक पढाइकुना घोषणा गर्ने लक्ष्यबमोजिम अभिभावकलाई तालिम दिएपछि अभिभावकहरू समेत बालबालिकाका लागि सक्रिय भएर लागेका छन्। विद्यालयमा पढेका कुराहरूलाई घरमा गएर पढ्नका लागि विद्यालयकै जस्तो कक्षाकोठा स्थापना गर्न अभिप्रेरित गर्ने उद्देश्यले घर घरमा कक्षा कुना स्थापना गरिएको अभिभावकहरूले बताएका छन्। पहिला पहिला हामीलाई निकै असजिलो लागेको थियो। तर आफ्नै बालबालिकाले घरमा अध्ययन गर्न रुचि देखाएपछि आफू पनि घरमा कक्षाकुनाको व्यवस्था गर्न लागेको मधुबन नगरपालिका वडा नम्बर २ सुन्दरपुरकी शान्ति थारुले बताउनु भयो । सशक्त बालिका परियोजनाले बालविवाह न्यूनीकरण गर्न बर्दियाको गुलरिया नगरपालिका मधुबन नगरपालिका र बढैयाताल गाउँपालिकामा विभिन्न किसिमका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ।








