ज्योति पन्थी
बबई (बर्दिया) असार १६ गते । उद्योग वाणिज्य सङ्घ गुलरियाले खुला सीमाबाट हुने अवैध कारोबार नियन्त्रण गर्न माग गर्दे जिल्ला प्रशासन कार्यालय बर्दियाको ध्यानाकर्षण गराएको छ ।
जिल्ला प्रशासन कार्यालयमा शुक्रवार पुगेको उद्योग वाणिज्य सङ्घ बर्दियाको टोलीले जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको ध्यानाकर्षण गराएको हो । बर्दिया जिल्लामा खुला सीमा भएका कारण अवैध चोरी पैठारीका साथै नेपाल भारतका सीमावर्ती क्षेत्रका भारतीय बजारमा नेपालीहरूको आज जात बन्द गर्नु पनै माग समेत गरेको छ ।
उद्योग वाणिज्य सङ्घको टोलीले अवैध कारोबार नियन्त्रण सहित सरकारको राजस्व असुलीलाई समेत प्रभावकारी बनाउनु पर्ने, कृषकहरूलाई आवश्यक पर्ने मल उपलब्ध गराउन सम्बन्धित निकाय सँग पहल गर्नु पर्ने, सीमा क्षेत्रमा निगरानी बढाउनु पर्ने माग सहितको ध्यानाकर्षण पत्र बुझाएको उद्योग वाणिज्य सङ्घ बर्दियाका अध्यक्ष देवेन्द्र पाण्डेले बताउनु भयो । उद्योग वाणिज्य सङ्घले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै ब्यापारी प्रतिनिधिहरु सँग प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आगामी दिनमा व्यापार सङ्घको मागलाई मध्यनजर राखेर काम गर्ने र सिमा क्षेत्रमा निगरानी बढाउने प्रतिवद्धता जाहेर गर्नु भएको उद्योग बाणिज्य संघका महासचिव मोहित पौडेलले बताउनु भयो ।








