बर्दिया भदौ २२ गते । बर्सो देखि एक्का चलाएर जीवन निर्वाह गर्दे आएका एक्का चालकहरू पछिल्लो समय सङ्कटमा पर्न थालेका छन् भने एक्का चालकहरू पलायन हुने सङ्केत समेत देखिएको छ ।

बर्दियाको गुलरिया देखि नेपाल भारत सीमा क्षेत्रको मुर्तिहा सम्म एक्काहरू सञ्चालन हुँदै आई रहेका थिए । एक्का सञ्चालन गर्दा खर्च समेत बढ्दै जान थाले पछि र यात्रुहरूको आकर्षण समेत घट्दै जान थाले पछि एक्का संचालहरु सङ्कटमा पर्दे गएका छन् ।
सवारी साधन नहुँदा गुलरिया मुर्तिहा सडकमा ५२ वटा एक्का सञ्चालनमा थिए तर अहिले त्यस सडकमा १६ वटा मात्र एक्का सञ्चालन हुने गरेका छन् । दिनभरि एक्का सञ्चालन गर्दा ५।६ सय मात्र कमाई हुने गर्दछ । कमाएको ५।६ सय मध्य घोडाको आहारामा मात्र तिन सय खर्च हुने गरेको छ त्यसैले पनि आज भोली गुलरियामा एक्का चालकको सङ्ख्या घट्दै जान थालेको हो ।
गुलरिया नगरपालिका वडा नं.७ का सब्बिर खाँले घर घरमा मोटरसाइकल र सवारी साधनको बढ्दो चापले आफूहरूको पेसा नै सङ्कटमा परेको बताउनु भयो । बिहान ७ बजे देखि यात्रु कुरेर सडकमा बस्ने गरेका एक्का चालकहरू साँझ घर फर्कँदा रित्तो हात पनि फर्कनु पर्ने हुन्छ । भारतको मुर्तिहा देखि बिहान र साँझ रेल सञ्चालन हुँदा केही मात्रामा भए पनि यात्रु पाउने गरेका एक्का चालकहरू रेल सेवा बन्द भए सँगै यात्रुहरू समेत आउन छाडेको बताउँछ । पहिला पहिला विवाह व्रतबन्ध जस्ता पर्वहरूमा जाँदा एक्काको प्रयोग गर्ने गरिन्थ्यो तर सवारी सख्या बढे सँगै त्यो प्रचलन समेत हराउँदै गएको छ ।

बर्षौ देखि एक्का चलाएर जीवन निर्वाह गर्दै आएका एक्का चालकहरू निर्वाह नै हुन छाडे पछि पलायन हुन थालेको बताउँछ । ८ किलोमिटर यात्रा गराएर यात्रु बाट एक सय रुपैयाँ लिने गरेको उनीहरूको भनाई छ । करिब दुई दशक देखि एक्का सञ्चालन गर्दे आउनु भएका गुलरिया नगरपालिका वडा नं.८ का एक्का सञ्चालक कल्लु चौधरीले यात्रुको भाडा पनि बढेको छैन तर पनि यात्रुहरू आज भोली एक्का चडन खोज्दैनन् उहाँले भन्नु भयो । एक्का सञ्चालन गर्न निकै कठिनाइ र खर्चिलो पनि छ उहाँले भन्नु भयो । केही वर्ष अघि ५२ वटा एक्का सञ्चालन भएको भए पनि अहिले भने त्यस स्थानमा १६ वटा मात्र एक्का सञ्चालन भई रहेका छन् ।

गुलरिया नगरपालिका वडा नं.६ वडा अध्यक्ष सुधांशु प्रकाश शर्माले वडा भित्र रहेका एक्का सञ्चालकलाई कोभिडको समयमा उनीहरूको जीवन निर्वाहका लागि चामल,दाल, तेल सहयोग गरिएको र घोडाहरूको लागी खानाको व्यवस्था गरिएको भए पनि अन्य सहयोग नगरिएको बताउनु भयो । जिल्ला टाफिक प्रहरी कार्यालयका कर्मचारी कृष्ण डिसीले बर्दियाका सवारी साधनको सङ्ख्या बढ्दै जाँदा एक्काको आकर्षण घटेको बताउनु भयो ।









