[the_ad id="16865"]

निर्वाचित रेशमलाई जेल कोचेर ठूलो अन्याय : नेतृ हिसिला यमी

निर्वाचित रेशमलाई जेल कोचेर ठूलो अन्याय : नेतृ हिसिला यमी
[the_ad id="16873"]

कैलाली। नयाँशक्ति पार्टी नेपालकी हेडक्र्वाटर सदस्य एवं नेतृ हिसिला यमीले धनगढीमा थारु अगुवाहरुसँग टीकापुर घटनाबारे छलफल गरेकी छिन् ।

थरुहट थारुवान आन्दोलनको क्रममा घटेको टीकापुर घटना घटाएको अभियोगमा पुर्पक्षका लागि कारागार चलान गरिएका जननिर्वाचित तर सपथ नगराइएका सांसद रेशम चौधरीसहित २७ विरुद्ध लागेको मुद्दा र समसमायिक राजनीतिक घटनाक्रमबारे थारु अगुवालाई बोलाएर छलफल गरेकी हुन् ।

उनले भनिन्,‘नयाँशक्ति पार्टी नेपालले पहिलैदेखि अधिकार र पहिचानको लागि उठेको थरुहट आन्दोलनलाई समर्थन गर्दै आएको छ । मागहरू जायज थिए । तर आन्दोलनको क्रममा घटेको घटना दुखद हो । यद्यपि राजनीतिक मुद्दा भएकाले राजनीतिक रुपमा नै समाधान खोजिनुपर्छ । यतिका दिन ४० महिनासम्म जेलमा कोचेर राज्यले ठूलो अन्याय गर्दैछ ।’

उनले नेकपाका सत्ताधारी नेताले विभिन्न राजनीतिक सेटिङ मिलाएर राजनीतिक घटनाक्रम अन्तर्गत मुद्दा खेपिरहेका बालकृष्ण ढुंगेललाई स-सम्मान रिहाइ गरेको दाबी गरिन् । तर जनताले अत्याधिक बहुमतले विजय गराएका सांसद रेशम चौधरीलाई राज्यले जेलमा कोचेर जनमतको अपमान गरेको बताईन् ।

राज्यले थारु समुदायको हक अधिकारबारे गम्भीर भए तत्काल चौधरीलाई प्रमाणपत्रसहित शपथ ग्रहण गराउनुपर्ने उनको भनाई थियो ।

छलफल कार्यक्रममा थारु कल्याणकारिणी सभा कैलालीका कार्यबाहक सभापति माधव चौधरीले राज्यले थारु समुदायलाई पेलेर राखेको बताए । अधिकारको आन्दोलनलाई दमन गर्नलाई पनि निर्दोष थारुमाथि झूटा मुद्दा लगाएको दाबी गरे । थरुहट आन्दोलनबारे प्रकाश पार्दै उनले भने, ‘हामी यहाँ भएका विभिन्न राजनीतिक आन्दोलनको घटना क्रमलाई नियाल्दै आएका छौं । राज्य एक पक्षलाई पोस्दै आएको छ । अर्को पक्षलाई दबाउँदै आएको छ । हाम्रो आन्दोलन सकिएको छैन । कुनै न कुनै दिन उठ्छ ।’

राष्ट्रिय जनता पार्टीकी नेतृ एवं प्रदेशसभा सदस्य मालामति रानाले थरुहट मधेश आन्दोलनबारे छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित छानबिन टोलीले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न राज्यले खुट्टा कमाएको बताइन् ।

सरकारबाटै तयार पारेको प्रतिवेदन सार्वजनिक नगर्नु भनेको सरकारको तानाशाही प्रवृति देखाएको टिप्पणी गरिन् ।
थारु अगुवा एंव थाकस कैलालीका पूर्वसभापति प्रभातकुमार चौधरीले नयाँ संविधान थारु समुदायलाई ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात’झैं भएको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओली रहेसम्म थारु समुदायले अधिकार नपाउने जिकिर गरे ।

थारु युवा ठाकुरकरिया प्रधानले मुलुकको नयाँ संघीय संरचना थारु समुदायलाई ‘खाने भए खा, नत्र घिच’ भएको बताए । हाल थरुहट आन्दोलन सकिएको देखिए पनि भित्रभित्रै उकुसमुकुसको अवस्था रहेकाले कुनै पनि बेला विष्फोट हुन सक्ने चेतावनी दिए ।

कार्यक्रममा थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरीले यदि कोही थारु समुदायको अधिकारको लागि बोल्छु या लड्छु भन्छ भने उसले रेशम चौधरीलाई प्रमाणपत्रसहित शपथ ग्रहण गराउन सक्नुपर्ने बताए ।

अन्यथा सबै कुरा फगत रहेको उनको भनाई थियो । छलफलमा उपस्थित अगुवाले नयाँशक्ति पार्टी नेपालले थारुलगायत पीडित समुदायको मुद्दाबारे स्पष्ट आधिकारिक दृष्टिकोण बनाएर आउनुपर्ने सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search