श्रद्धेय खेमराज भट्ट मायालु अब हामीबीच रहनुभएन । लामो समय अर्वुध रोगसँग संघर्षरत उहाँ अन्ततः भौतिक रुपमा यो धर्तीबाट सदाको लागि बिदा हुनुभयो । सर्वप्रथम म दिवङ्गत मायालुको आत्माको चिरशान्तिको कामना गर्छु र शोकाकुल परिवार जनमा हार्दिक समवेदना प्रकट गर्दछु ।
मैले खेमराज भट्टको बारेमा बाल्यकालदेखि नै सुनेको थिए । मेरो बाल्यकाल बर्दियाको गोलामा बित्यो । त्यतिबेला हाम्रो प्रमुख बजार राजापुर थियो । विशेष गरी २०४२/०४३ सालतिर हुनुपर्छ, गाउँमा उहाँको बारेमा अनेक रोचक कुराहरु सुनिन्थे । राजापुर बजार जादा बाटामा दौलतपुर गाउँ पर्थ्यो,जहाँ उहाँको घर थियो । त्यो घरमा सधै तालाबन्दी हुन्थ्यो । मान्छेहरु घरलाई सरकारले लाह छाप लगाएको भन्थे ।खेमराज भट्ट राजदरबारमा बम हान्ने व्यक्ति हो भन्थे । वास्तविकता थाहा थिएन ।
२०४६ सालमा उच्च शिक्षाको लागि महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज गइयो । म क्याम्पसमा अध्ययनका साथै लोकतान्त्रिक आन्दोलनमा पनि सहभागी हुनथालेको थिए । त्यतिबेलामात्र मलाई २०४२ सालको राजनैतिक घटना, नेपाली काङ्ग्रेसको सत्याग्रह र जनवादी मोर्चाले गरेको बमबारीको बारेमा जानकारी भयो । मैले आफ्नो गाउँको नेता मायालुको बारेमा थाहा पाए ।
अध्ययनलाई अगाडि बढाउदै जाने क्रममा मलाई कानुनमा रुचि बढ्न थाल्यो । मलाई कानुनको विद्यार्थी हुँदा रामराजा प्रसाद सिंह र खेमराज भट्टको बारेमा रोचक जानकारी प्राप्त भयो । अन्तर्राष्ट्रिय कानुनको सुपुर्दगी सम्बन्धि विषयमा नेपाल भारतबीचको सुपुर्दगी सन्धिको सन्दर्भमा उहाँहरुको नाम आउछ ,नेपाली शासकहरुले अपराधी करार गरेको व्यक्तिलाई भारतले राजनैतिक बन्दीको रूपमा सपुर्दगी नगरेको, संरक्षकत्व दिएको विषय नेपाली कानुनको इतिहासमा पहिलो घटना मानिन्छ । त्यसैगरी कानुनको सिद्धान्त पढ्दा पनि उहाँहरुको विषयमा चर्चा हुन्छ । कानुनको सिद्धान्त अनुसार कानुन पश्चातदर्शी हुदैन भनिन्छ । अर्थात पछि कानुन बनाएर अघि गरेको कामलाई अपराध करार गर्न सकिदैन । तर तत्कालीन सत्ताले उहाँहरुको हकमा पश्चात्दर्शी कानुन बनाएर उहाँहरुमाथि ध्वङ्शात्मक अपराध नियन्त्रण ऎन अन्तर्गत मुद्दा चलायो रअदालतले मृत्युदण्ड रआजीवन कारावासको सजाय दियो र सर्वस्व हरण गर्यो, जुन सर्वथा कानुनको सिद्धान्तको विरुद्ध थियो ।यसरी कानुनका पाठ्यपुस्तकहरुमा स्मरणीय व्यक्तित्वका रूपमा खेमराज भट्टसग म परिचित भए
उहाँसग मेरो प्रत्यक्ष भेट २०५५ तिरमात्र भयो । जनवादी मोर्चा छोडेर उहाँ नेपाली काङ्ग्रेसमा प्रवेश गर्नु भयो । बर्दियालाई उहाँले आफ्नो राजनैतिक कर्मथलोका रूपमा रोज्नु भयो । उहाँ काङ्ग्रेसमा प्रवेश गरिसकेपछिको पहिलो र ठूलो राजनैतिक आमसभा बर्दियाको शान्तिबजारमा भएको थियो, संयोगले त्यो कार्यक्रमको उद्घोषणको जिम्मेवारी मैले पाएको थिए । त्यसपछि उहाँसग निकटता वढ्दै गयो र उहाँलाई केही हदसम्म चिन्ने मौका मिल्यो । २०५६ सालको आमनिर्वाचनमा उहाँ बर्दिया क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको सदस्य हुनुभयो, सामान्य प्रशासन मन्त्री बन्नुभयो । सत्तामा रहदा उहाँसग भेट भएन, उहाँको कार्यव्यस्तताले त्यो अवसर जुरेन । धेरैपछि उहाँसग भेट भयो ।
२०६२/०६३ को जन आन्दोलनको समय थियो । चैत महिनातिर हुनुपर्छ ।राजापुरमा सात राजनैतिक दलको कार्यक्रम थियो । म बर्दिया समाचार साप्ताहिक पत्रिकाको सम्पादकको रूपमा कार्यरत थिए र राजापुर जाँदै थिए । बर्दियाका एक जना युवा काङ्ग्रेस कार्यकर्ता युवराज अधिकारीका साथमा उहाँ पनि सो कार्यक्रममा सहभागी हुन राजापुर जादै हुनुहुन्थ्यो । कर्णाली नदी तर्न कोठिया घाटमा स्टिम्बरका लागि लामो प्रतीक्षा गर्नु पर्यो । त्यो फुर्सदको बेला उहाँसग धेरै अन्तरङ्ग कुरा भयो । मैले उहाँले नेपाली क्रान्तिमा गरेको योगदानको चर्चा गरे ।सत्तामा गएर किन यो क्षेत्रका जनताको अपेक्षा पूरा गर्नु भएन ? कि जन समक्ष गरेका बाचा बिर्सनुभयो ? भनेर प्रश्न गरे । उहाँसग कुनै उत्तर थिएन । उहाँले मसग उल्टै गुनासो गर्नुभयो । मलाई भन्नुभएको थियो, राजेन्द्र भाइ तिमीजस्तो मान्छे नजिक आएनौ, नजिक भएकाहरुले मलाई डुबाए । उहाँ त्यतिबेला उदास र निराश हुनुहुन्थ्यो । एउटा निष्कपट क्रान्तिकारीको चित्त दुखाएकोमा मैले ग्लानी महसुस गरे । म अहिले पनि सम्झिरहेको छु । मायालु दाइ तपाईंको आत्माले शान्ति पाओस ।
लेखकः राजेन्द्र प्रसाद धिताल
प्राध्यापकःः बबई बहुमुखि क्याम्पस गुलरिया