[the_ad id="16865"]

सितल निवासमा राष्ट्रपतिकाे उकुसमुकुस

सितल निवासमा राष्ट्रपतिकाे उकुसमुकुस
[the_ad id="16873"]

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार शीतलनिवासमा सम्पादकहरुसँग भलाकुसारी थाल्नुअघि उद्घोषकले औपचारिकता पूरा गर्न माइक समाए । एकछिनपछि पौडेल आफैंलाई झन्झट लागेछ । ‘ए, तपाईं बस्नुस्, बस्नुस्’ भनेर उद्घोषकलाई सम्झाए । आफैं संवाद अघि बढाउन थाले । ‘बीचमा बिरामी परेको पर्‍यै भएर सम्पादकहरुसँग पहिलो भेट नै ढिलो भयो, म त अस्ति नै भेट्न चाहन्थें’, उनले आफैं भन्दिएपछि अब कुनै औपचारिकता रहेन ।

यो पंक्तिकारले उनलाई सोध्यो, ‘जीवनभरि सक्रिय राजनीति गरेर आउनुभएको तपाईं । यहाँ कत्तिको उकुसमुकुस हुन्छ ?’ पौडेलले भने, ‘उकुसमुकुस हुन्छ । कति कुरामा आफैं अघि सरेर बोलौं भन्ने हुँदोरहेछ । तर त्यसो गर्न राष्ट्रपति पदले दिंदैन । अस्ति तनहुँ गएका बेला केशवटारमा बोल्दाबोल्दै के के शब्द फुत्किहालेछ । मान्छेले कुरा पनि गरे । पौडेलले दुई साताअघि तनहुँमा गएर बोलेको प्रसंगमा वैशाखको उपचुनावको चर्चा परेको थियो, जहाँ पौडेल निर्वाचित भएसँगै खाली सिटका लागि विगतमा पौडेलको पार्टी कांग्रेसबाट गोविन्द भट्टराई अनि रास्वपाबाट स्वर्णिम वाग्ले उठेका थिए ।

नतिजा जगजाहेर छ, वाग्लेले फराकिलो अन्तरमा जिते । राष्ट्रपति पौडेलले केशवटारका मतदातालाई असोज ५ गते आयोजित भेलामा भन्न पुगे, ‘उपचुनावको आँधीहुरीमा पनि सतिसाल भएर हुरी रोक्ने कोसिस गर्नुभएकामा तपाईंहरुलाई धन्यवाद छ । केशवटार त्यही ठाउँ हो, अन्यत्र सबैतिर रास्वपाले लिड गर्दा पनि पनि त्यहाँ कांग्रेसको भोट बढ्ता आएको थियो । यो इलाका रहेको क्षेत्रमा पौडेलले २०७४ को चुनावबाहेक सधैं जिते ।

खासमा पौडेल चाहन्थे-प्रधानमन्त्री बनुँ । त्यसैले अघिल्ला चुनावपछि उनलाई सभापति शेरबहादुर देउवाले राष्ट्रपतिको अफर गर्दा उनी त्यसलाई आफ्नो राजनीतिक जीवन सिध्याउने षड्यन्त्र मान्ने गर्थे । २०७९ को चुनावपछि भने उनले ‘यथार्थबोध’ गरे । अनि भारतको कंग्रेसका प्रणव मुखर्जीकै जस्तो नियति सकार्ने विचार गरे । कुशल राजनीतिज्ञ, सफल अर्थमन्त्री प्रणवलाई सोनिया गान्धीले प्रधानमन्त्रीबाट पन्छाउन राष्ट्रपति बनाएकी थिइन् । अघिल्लो प्रश्नको जवाफ क्रममा पौडेलले यो पनि थपे, ‘मलाई त पहिले सभामुख बन्दा नै उकुसमुकुस भएको थियो । किनभने मेरा लागि त्यस्तो खालको (तटस्थ) पद उपयुक्त हुँदोरहेनछ । त्यसैले म दोहोर्‍याएर सभामुख बन्दिनँ भनेर (पार्टीमा) भनेको पनि थिएँ ।’

अहिले तिनै राष्ट्रपति पौडेललाई शीतलनिवासको संवैधानिक पद मिलेको छ । पोहोर फागुनयता उनी सक्रिय पार्टी राजनीति छाडेर संविधानको संरक्षण र पालन गर्ने दायित्वमा छन् । अघिल्ला दुई राष्ट्रपतिलाई संविधानको संरक्षण र पालनामा चुक्न पुगेको आलोचना छ ।

पौडेलको सन्दर्भमा कस्तो इतिहास लेखिएला, अझै पनि उनीमाथि शंकाको लाभ दिन सकिन्छ । सुरुवाती महिनाहरु सुखद ढंगले बितेका भने छैनन् । प्रधानमन्त्री प्रचण्ड र मन्त्रीहरुसँग, अनि दलका नेताहरुसँग आफ्नो भूमिकालाई लिएर उतारचढावयुक्त अनुभूति रहेको पौडेलले आइतबार सुनाए ।

‘मैले प्रधानमन्त्रीलाई सचेत गराएको छु-मलाई टेकन फर ग्रान्टेड नलिनुहोला । नत्र मैले गम्भीर हुनुपर्छ’ पौडेलले भने, ‘यही कुरा मैले नेताहरुलाई पनि भनेको छु । म राजा नबन्नमा अत्यन्त सचेत छु । नैतिक प्राधिकार (मोरल अथोरिटी) प्रयोग त गर्छु, तर संविधानको सीमाभित्र ।’

उनले कुन कुन विषयमा प्रधानमन्त्री र नेताहरुसँग आफ्नो कुरा मिलिरहेको छैन भन्नेमा ठ्याक्क किटेर भनेनन् । तर रक्षा, गृह जस्ता मन्त्रालय सम्हालेका मन्त्रीसँग पनि कतिपय कुरामा विचार नमिलेको सुनाउन बाँकी राखेनन् ।

पौडेल राष्ट्रपति बनेपछि विगतमा उनका सहयात्री, प्रतिस्पर्धी शेरबहादुर देउवा तीनपल्ट भेट्न शीतलनिवास आएका छन् । एमाले अध्यक्ष केपी ओली एकपल्ट गएका छन् । प्रधानमन्त्री प्रचण्डचाहिं नियमित गइरहन्छन् ।

उनलाई पनि बाहिर निस्कन मन लाग्छ । तर प्रोटोकलको हैरानी छ । शीतलनिवासको सबै व्यवस्थापन नेपाली सेनाले गर्छ । पौडेलको प्रतीक्षामा हामी रहँदै गर्दा कुरा उठ्यो, ‘अन्यत्र देशहरुमा यस्तो व्यवस्थापन सेनाले गर्दैन, नागरिकका राष्ट्रपतिलाई यहाँ चाहिं सबै कुरा सेनाले गर्नु अनौठो व्यवस्था हो ।’

पौडेल आफू यस्तो शैलीभन्दा सामान्य शैलीमा विश्वास गर्ने बताइरहेका छन् । त्यसका लागि उनले कुनै ठोस कदम चाल्न सरकारलाई सुझाव देलान् कि नदेलान् भन्ने हेर्न बाँकी छ । उनी भन्छन्, ‘म फ्याट्ट बनेको राष्ट्रपति होइन, लामो संघर्षबाट आएको छु । जनताको अवस्था मलाई थाहा छ ।’

नागरिकता विधेयकको प्रमाणीकरण गर्दा होस् या संविधान दिवसका बेला माफीमिनाहा र कैदकट्टा गर्दा आफूले गरेका निर्णय विवादमा पार्न खोजिएको पौडेललाई हेक्का छ । कानुनी दृष्टिले हेर्दा उचित देखिए पनि नैतिक दृष्टिले प्रश्नयोग्य विषयहरुमा आफूले सकेसम्म धेरै सूचना र जानकारी लिने, लागेका कुरा सरकारलाई भन्ने गरेको उनले सुनाए ।

खुँडा हानेर हत्या गरी कैद काटिरहेका रिगल ढकालको बाँकी भुक्तान गर्नुपर्ने कैद मिनाहा गरेकाेमा आम आक्रोश झेलिरहेका राष्ट्रपतिलाई ध्यानाकर्षण गराउन रास्वपा नेताहरु शीतलनिवास गएका थिए । त्यसमा उनले जवाफ दिएका रहेछन्, ‘तपाईंहरु आउन त आउनुभयो, तर गलत ठाउँमा । किनभने यसको निर्णय सरकारले गर्छ ।’

राष्ट्रपति पौडेललाई लाग्छ : राजा मानेर आएको देशमा कतिपय नागरिकको अपेक्षा अझै पनि विगतकै राजाकालीन समयको जस्तो हुँदोरहेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search