बर्दिया। मनसुनी वायुको प्रभावका कारण बर्दिया सहित लुम्बिनी र कर्णालीका अधिकाँश जिल्लामा विहानैदेखि वर्षात भइरहेको छ । आइतबार दिनभर बदली रहने र मेघ गर्जन चट्याङ्गसहित हल्का र मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

लुम्बिनीको बर्दिया बाँके, दाङ सहित कर्णालीका सुर्खेत, सल्यान, दैलेख, रुकुम पश्चिम, जाजरकोट र जुम्ला जिल्ला तथा सूदुरपश्चिम प्रदेशका धनगढी महेन्द्रनगर सहित अधिकाँश जिल्लामा वर्षा भइरहेको छ । आज दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

वर्षात भइरहेका क्षेत्रमा हुन सक्ने बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाले अनुराेध गरेकाे छ । वर्षात हुने क्रम जारी रहेकाले दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु पनि जिल्ला प्रशासन कार्यालय बर्दियाले अनुरोध गरेको छ ।









