ज्योतिपन्थी बर्दिया
माघ १८ । सरकारले कक्षा १० सम्म निःशुल्क शिक्षाको अवधारणा ल्याए पनि बर्दियाका कतिपय विद्यालयहरूले कानुनको धज्जी उडाउँदै मनलाग्दी शुल्क उठाउने गरेको खुलासा भएको छ। बर्दिया जिल्लाको बडैयाताल गाउँपालिका वडा नं ८ मा पर्ने विद्या ज्योति माध्यमिक विद्यालय कण्ठपुरले विद्यार्थीहरूबाट अनैतिक शुल्क उठाउने गरेको खुलासा भएको हो। कक्षा १०मा अध्ययनरत विद्यार्थीहरूबाट विद्याज्योति माध्यमिक विद्यालय कण्ठपुरले आम्दानी रसिद काटेर प्रमाणपत्र शुल्क र विद्यालय सहयोग शुल्क एसइ भनेर प्रत्येक विद्यार्थीबाट ५ हजारका दरले शुल्क उठाउने गरेको खुलासा भएको छ। विद्यालयले अनैतिक रूपमा शुल्क उठाउन थालेपछि स्थानीय विद्यार्थी र अभिभावकले गुनासो गरेका छन् । यस विषयमा वडा नम्बर ८ का वडाध्यक्ष तेजनाथ पौडेलले यस विषयमा आफूलाई शुल्क उठाएको विषयमा जानकारी नभएको र त्यस बारेमा त्यस विद्यालयका प्रधानाध्यापक भक्ति रेग्मीसँग बुझेर जानकारी गराउने बताए । प्रत्येक विद्यार्थीबाट विद्यालयको छाप समेत नलागेको नगदी रसिद मार्फत शुल्क उठाउने गरेको देखिएको छ ।

बढैयाताल गाउँपालिकाको नमुना माध्यमिक विद्यालयको रूपमा रहेको विद्याज्योति माध्यमिक विद्यालय कण्ठपुरले अनैतिक शुल्क उठाएको बारे प्रश्न गर्दा गाउँपालिका प्रमुख हिमालय त्रिपाठीले भने आफूलाई सो विषयमा जानकारी नभएको र आफूले बुझेर प्रतिक्रिया दिने बताए । गाउँपालिकाभित्र रहेका विद्यालयहरूले मनोमानी तरिकाले शुल्क उठाउँदा समेत गाउँपालिकाको शिक्षा समन्वय शाखा र वडादेखि गाउँपालिकासम्म मौन रहेका छन्। विद्यालयले प्रत्येक विद्यार्थीबाट ५ हजारका दरले शुल्क उठाएको भनी प्रश्न गर्दा विद्यालयका भक्ति रेग्मीले व्यवस्थापन समितिले निर्णय गरेर शुल्क उठाएको बताए भने व्यवस्थापन समितिले विद्यालय सञ्चालकका लागि निर्णय गरेर शुल्क उठाएको हो। कानुन बमोजिम नभएका कारणले पुन व्यवस्थापन समितिको बैठक बसेर तीन दिनभित्र शुल्क फिर्ता गर्नेछौं। रेग्मीले भने गत वर्षको एसइइ दिएका विद्यार्थीहरूबाट शुल्क लिएको हो। गत वर्ष मात्र त्यस विद्यालयमा ४८ जना विद्यार्थीले एस ई ई दिएको उनले बताए । सरकारी विद्यालयमा यसरी शुल्क उठाउन थालेपछि अभिभावकहरू समेत चिन्तित देखिएका छन्। सरकारले निःशुल्क शिक्षाको डम्फु बजाउने गरेको भएपनि विद्यालयमा भने शिक्षकहरूले कुनै न कुनै बहानामा शुल्क उठाइरहेका छन्।








