ज्योति पन्थी बर्दिया
गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले आफ्ना बाबु नानीहरूको विवाह २० वर्षपछि गर्न नगरवासीसँग अनुरोध गर्नुभएको छ। गुलरिया नगरपालिका वडा नम्बर २ ले बिहीबार आयोजना गरेको बालविवाह मुक्त वडा घोषणा कार्यक्रममा नगर प्रमुख यादवले सो अनुरोध गर्नुभएको हो।
वडा नम्बर २ लाई बालविवाहमुक्त वडा घोषणा गर्दै नगरप्रमुख यादवले ससाना बालबालिकालाई स्कुल पठाउने उमेरमा विवाह नगरिदिन अभिभावकलाई पनि अनुरोध गर्नुभयो साथै उहाँले बालबालिकाले समेत अभिभावकको इच्छा विपरीत नगर्न अनुरोध गर्दै साना बालबालिकालाई विद्यालय पठाउनुपर्नेमा जोड दिनुभयो । प्लान इन्टरनेसनल र बाँके युनेस्को क्लबको सहयोगमा उक्त कार्यक्रम गरिएको हो । वडा नम्बर दुईले आयोजना गरेको कार्यक्रममा गुलेरिया नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष टंकप्रसाद अधिकारी विशेष अतिथि गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्रा गौतम प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह महिला तथा बालबालिका शाखा प्रमुख शिला शाह त्यसैगरी योजना शाखाका प्रमुख मुकुन्द अर्याल
प्लान इन्टरनेसनल नेपालकी सञ्चार प्रमुख सिर्जना बज्राचार्य बाँके एनसको क्लबका अध्यक्ष रविकुमार तुलाधर प्रमुख संरक्षक प्रवेश अलि सिद्दिकी र वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङ वडा नम्बर ४ का वडा अध्यक्ष सुरेश गौतम वडा नम्बर ५ का कार्यवाहक वडा अध्यक्ष रतन ठगुराठी वडा नम्बर ७ का वडाध्यक्ष मनोज यादव वडा नम्बर १ का वडाध्यक्ष जोगीराम थारुबाँकी युनेस्को क्लबका बर्दिया कार्यक्रम संयोजक गोविन्द प्रसाद लामिछाने लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख शिला शाहले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने नगर प्रमुख मुक्तिनाथ यादवले गुलरिया नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष टंकप्रसाद अधिकारीलाई बालविवाहमुक्त वडा घोषणा भएको प्रमाणपत्र समेत हस्तान्तरण गर्नुभएको थियो।
यसअघि गुलरिया नगरपालिकाले ११ वटा वडालाई बालविवाहमुक्त वडा घोषणा गरिसकेको छ भने वडा नम्बर २ सहित गुलरिया नगरपालिकाका १२ वटा वडा बालविवाहमुक्त वडा घोषणा भएका छन्।








