कास्की । मानव सेवा फाउन्डेसनले आउँदो वैशाख-जेठमा आयोजना गर्न लागेको महायज्ञका लागि पोखराको लेकसाइडस्थित बाराही घाटमा आज भूमिपूजाको कार्यक्रम राखेको थियो, तर महानगर प्रहरीले हस्तक्षेप गरेपछि उक्त धार्मिक अनुष्ठान विथोलिएन मात्रै, कार्यक्रमस्थल नै रणमैदानमा परिणत भयो ।
प्रहरी-प्रशासनसँग अनुमति नलिइकन महायज्ञ गर्न लागिएको भन्दै भूमिपूजा रोक्नलाई महानगरले प्रहरी पठाएको हो । नगर प्रहरीले आएर भूमिपूजा गर्ने टोलीलाई त्यहाँबाट हटाउने प्रयास गरे, तर फाउन्डेसनका अनुयायीहरुले प्रतिवाद गरेपछि दोहोरो झडप भएको थियो । झडपमा दुवैतर्फ घाइते भएका छन् । झडपमा दुवै पक्षबाट हतियार तथा रडहरु प्रयोग भएका थिए ।
कोटीहोम र महानगरको विवाद
पोखरा महानगर र मानव सेवा फाउन्डेसनको विवाद चौताराको रुखको हाँगा काट्न थालिएदेखि सुरु भएको हो । सुरुमा महानगरका केही वडाले रुख काट्न फाउन्डेसनलाई अनुमति दिएका थिए । आलोचनापछि महानगरले ती काटेका काठ जफत गर्यो ।
महानगरको एक्सनपछि फाउन्डेसनका संस्थापक विजय कृष्णमूर्ति भनेर चिनिने विजय भण्डारीले जुनसुकै हातलमा पनि पोखराको लेकसाइडमा महायज्ञ गरेरै छाड्ने बताएका थिए । सोही क्रममा उनले ‘धर्मका लागि अधर्म गर्नसमेत तयार रहेको’ विवादित अभिव्यक्ति दिए ।








