काठमाडौं जेठ १३ गते। नेपाल शिक्षक महासंघका राष्ट्रिय अध्यक्ष लक्ष्मी किशोर सुवेदीले सरकारले शिक्षकहरुसंग गरेको सम्झौता कार्यान्वयनमा ईमानदारी कायम राख्नेमा शिक्षक महासंघ विश्वस्त रहेको बताएका छन् । नेपाल शिक्षक संघ , काठमाडौं महानगर समितिले जेठ ९ गते काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष सुवेदीले आफूलाई सरकार प्रती पूर्ण भरोसा भएको बताएका हुन् ।
शिक्षकहरुले भद्र आन्दोलनमार्फत सरकारलाई झुकाउन सफल भएको दावी गर्दै उनले अहिले सरकारले शिक्षकहरु समक्ष आफ्नो ईमानदारिता प्रमाणित गर्ने ठूलो अवसर आएको बताए। शिक्षकहरुले शिक्षा ऐनमा सरकारको गतिविधि मात्रै होइन सांसदहरुको पनि अभिव्यक्ति र गतिविधि दुबैलाई अत्यन्तै चनाखो भएर नियालीरहेको दावी गरे। उनले सरकारले शिक्षकहरुसंग गरिएको सम्झौताबाट अलिकति पनि दायाँबायाँ गरेमा त्यसको सशक्त ढंगले प्रतिकार गर्न मुलुक भरिका शिक्षकहरु तयारी अवस्थामा रहेको दावी गरे। नेपाल शिक्षक संघका केन्द्रिय अध्यक्ष सोमनाथ गिरीले सरकारले शिक्षकहरु प्रती बेइमानी गरे त्यसलाई नेपाल शिक्षक संघले कुनै पनि शर्तमा स्वीकार्न नसक्ने र त्यसको विरुद्ध कडा कदम चालिने चेतावनी दिए । उनले भने,”नेपाल शिक्षक संघ अहिले पनि आन्दोलनकै मानसिकतामा छ ।
मुलुककालुकका सबै खालका शिक्षक र विद्यालय कर्मचारीको पेशागत हित र विद्यालयीय शिक्षाको गुणस्तर प्रवर्द्धनकालागि नेपाल शिक्षक संघ संघर्षको मैदानमा रहनेछ।” लैनचौर स्थित शान्ति विद्या गृह मा वि को सभाकक्षमा आयोजित “नव वर्ष २०८२ को शुभकामना आदानप्रदान एवम् क्यालेन्डर लोकार्पण समारोह” नेपाल शिक्षक संघ काठमाडौं महानगर समितिका सभापति मेघ बहादुर बञ्जाराको सभापतित्वमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रिय उपाध्यक्ष सुन्दर पन्त , महासचिव ज्ञानेन्द्र रावल , काठमाडौं जिल्ला समिति सभापति मञ्जु श्रेष्ठ लगायतका शिक्षक नेताहरुले आ आफ्नो मन्तव्य राखेका थिए । नेपाल शिक्षक संघ, काठमाडौं महानगर समितिका सचिव बिनोद ओझाको उद्घोषणमा सम्पन्न उक्त समारोहको उद्घाटन नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरिले गरेका थिए । कार्यक्रममा हालै पदोन्नति भएका र प्र।अ। मा जिम्मेवारी तोकिएका शिक्षकहरुलाई सम्मानित गरिएको थियो ।








