बर्दिया साउन ५ गते । बर्दियाको भूमि समस्या समाधान आयोगले आयोग गठन भएको ८ महिना पछि गुलरिया नगरपालिकाका र बाँसगढी नगरपालिकाको ५३ भुमिहिन दलित र सकुम्बासी परिवारलाई जग्गा धनी पुर्जा वितरण गरेको छ ।
५ दशक भन्दा बढी समय देखि गुलरिया नगरपालिका वडा नं.४ को कैलासनगरमा बसोबास गर्दे आउनु भएका ४० जना र बासगढी नगरपालिकाका १३ भूमिहीन दलित र भूमिहीन सकुम्बासी परिवारलाई भूमि आयोगले जग्गा धनी पुर्जा वितरण गरेको हो ।
वर्षौँ देखि खुलेका आयोगमा निवेदन दिएर धाउँदा धाउँदा थकित दलित भूमिहीन र भूमिहीन सकुम्बासीहरु हातमा पुर्जा पाए पछि बल्ल सरकार भएको आभास भएको गुलरिया नगरपालिका वडा नं ४ कैलासनगरका भूमिहीन दलित सन्त बहादुर सुनारले बताउनु भयो ।
करिब ५० वर्ष देखि जग्गा धनी पुर्जा विहीन अवस्थामा कैलाश नगर क्षेत्रमा बसोबास गर्दे आउनु भएका भूमिहीन दलित र भूमिहीन सुकुम्वासीहरूमा यति बेला खुसी छाएको छ । आफ्ना पुर्खाहरूको पाला देखि भूमिहीन भएर बसोबास गरी रहे पनि आज आफूहरूलाई गुलरिया नगरपालिकाले पुर्जा दिएर न्याय गरेको उहाहरुको भनाई छ । बर्दिया जिल्लामा पुर्जा पाउने यो नै पहिलो पहिलो बस्ती बनेको छ । कैलाश नगरमा बसोबास गर्ने अधिकांश दलित भूमिहीन भएकाले पनि उहाँहरू पुर्जा विहीन अवस्थामा बस्दै आउनु भएको थियो । हामीहरू बसोबास गर्दे आएको जमिन सरकारको नाममा थियो आज हामीले आफ्नो जमिनको हक प्राप्त गरेका छौ यसमा खुसी छौ गुलरिया नगरपालिका वडा नं.४ कैलाश नगरका ४५ बर्सिया सुदारा गोडियाले बताउनु भयो ।
सरकारले भूमिहीन सुकुम्वासीलाई जग्गा वितरण गर्ने कार्यादेश दिए पछि विभिन्न समस्याहरूलाई पन्छाउँदै बर्दियामानै पहिलो पटक गुलरिया नगरपालिका ४० जना दलित भूमिहीन र भूमिहीन सुकुम्वासीलाई जग्गा वितरण गर्न सफल भएको गुलरिया नगरपालिका नगर प्रमुख मुक्तिनाथ यादवले बताउनु भयो । गुलरिया सँगै बासगढीको पनि पुर्जा तयार भएकाले एकै पटक वितरण गर्ने उद्देश्य राखेर संयुक्त कार्यक्रम राखिएको भूमि समस्या समाधान आयोग बर्दियाका अध्यक्ष अरुण प्रकाश सिंह राठौरले बताउनु भयो । बर्षौ देखि पुर्जा विहीन अवस्थामा रहेका भूमिहीनलाई नगरपालिकाले पुर्जा वितरण गरेर न्याय गरेको र आगामी दिन पनि उज्ज्वल हुने बर्दिया क्षेत्र नं.१ का संघिय संसद् सञ्जय कुमार गौतमले बताउनु भयो ।
ज्योति पन्थी








