१० भदौ, काठमाडौं । उखु किसानले गत आर्थिक वर्ष २०८१/८२ मा उखु बेचेबापत पाउनुपर्ने अनुदान भुक्तानी गर्न सरकारले ७५ करोड ४९ लाख रुपैयाँ निकासा गरेको छ ।
कृषि मन्त्रालयले गरेको प्रस्ताव बमोजिम यो रकम विभिन्न ८ जिल्लाका कोष तथा लेखा नियन्त्रकको कार्यालय मार्फत किसानलाई भुक्तानी गर्ने गरी निकासा गरिएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेले अनलाइनखबरलाई बताए ।
उखु किसानले यसअघि पाउँदै आएको प्रतिक्विन्टल ७० रुपैयाँ नै अनुदान पाउनुपर्ने माग राखेर आन्दोलन गरिरहेका छन् । तर, सरकारले प्रतिक्विन्टल ३५ रुपैयाँका दरले अनुदान हिसाब गरेर रकम निकासा गरेको हो ।
अहिले यो रकम निकासा भएको छ । किसानहरूसँग वार्ता भइरहेको छ । त्यसमा केही सहमति भयो भने त्यसै अनुसार हुनेछ,’ प्रवक्ता पाण्डेले भने ।








