बर्दिया भदौ २ गते । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पर्ने बर्दियाको बबई पुल गोहीको प्राकृतिक बास स्थानका रूपमा विकास हुँदै गई रहेको छ ।
बबई पुलमा अहिले पनि एक दर्जन भन्दा बढी मगर गोही रहेका छन् । प्राकृतिक रूपमा पाइने मगर गोहीको सङ्ख्या केही वर्ष यता देखि बढ्दै जान थालेको छ । राजमार्गमा भएका कारण बबई पुलको तल पानीमा गोही सजिलै देख्न सकिन्छ । नेपालमा घडियाल र मगर दुई प्रकारका गोही पाइन्छ । मगर गोही भन्दा घडियाल गोही सहज हुने र घडियाल गोहीले आहाराको रूपमा माछा मात्र खाने गर्दछ भने मगर गोही घडियालको तुलनामा आक्रमण हुने र मानिसहरूलाई सम्म आक्रमण गर्ने गर्दछ । मगर गोही को मुख केही गोलो प्रकारको हुन्छ भने घडियाल गोहीको मुख चुच्चो हुन्छ ।
मगर गोही धमिलो पानीमा पनि बस्न सक्छ भने घडियाल गोही जस्तो पानीमा पनि बस्न सक्ने हुन्छ । घडियाल गोही बस्नका लागी बालुवा नै चाहिन्छ भने मगर गोहीको लागी जस्तो वासस्थान भए पनि हुन्छ । पूर्व पश्चिम राजमार्गको बबई पुलमा पनि अहिले गोहीको प्राकृतिक वासस्थान बन्दै गएको छ । पुलको तल तिर यात्रुहरूले गोही हेर्ने गरेका छन् । बबई पुल बर्दिया राष्ट्रिय निकुञ्ज सँग जोडिएकाले सवारी आवागमन बाहेक केही रोक्न दिने गरेको छैन तर पनि यात्रुहरू गोही हेर्नका लागी चालक सँग बिस्तारै गाडी चलाउन अनुरोध गर्ने गरेको देखिन्छ । बारबर्दिया नगरपालिका वडा नं.९ का विवेक भण्डारीले पुल पुग्दा साथ यात्रुहरूले सवारी साधन बिस्तारै चलाउन अनुरोध गर्ने गरेको बताउनु भयो ।
बबई पुलमा गोहीको प्राकृतिक वासस्थान बन्दै गए पछि हिउँदको समय अझ बढी मात्रामा गोही देखिने गरेको छ । पुलमा बबई सिचाई आयोजनाले बाँध निर्माण गरेका कारण हिउँदको समयमा पनि पानि रहने भएकाले गोहीको सङ्ख्या बढेको देखिन्छ । बबई पुलमा बाध सञ्चालनका लागी कार्यरत रहनु भएका कर्मचारी गणेश बहादुर भण्डारीले बबई पुलमा मगर गोही र घडियाल गोही दुवै प्रकारको गोही पाइने बताउनु भयो । उहाँले पछिल्लो वर्षहरूमा गोहीको सङ्ख्या बढ्दै गएको बताउनु भयो ।

बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी सरोजमणि पौडेलले निकुञ्जको कोर एरियामा गोहीको वासस्थान भएको र बबई पुलमा पनि गोहीको प्राकृतिक वासस्थान बन्दै गएको बताउनु भयो । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले बबई पुल गोहीको प्राकृतिक वासस्थान भएको र निकुञ्जको कोर एरिया भएकाले अनुमति लिएर पर्यटकलाई अवलोकन गर्न दिइने गरेको बताउनु भयो ।









